A short note about my life in Nepali language

गन्थन २
    पहिले म ठूला काम गरेर ठूला मान्छे बनिन्छ भन्ने धारणा राख्थें । ठूलो लक्ष्य, ठूलो उद्देश्य मानौं अत्यन्त महत्वाकांक्षी बादशाहले सोच्ने जस्तो शैली । तर आजभोलि विचारमा परिवर्तन आएको छ । साना कामहरु नगरी ठूला काम फत्ते हुँदैन । जसले सानो कामलाई उपेक्षा गर्छ त्यसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन । तर मेरा कार्यहरु केवल सफलताको लागि भन्दा पनि सन्तुष्टिको लागि केन्द्रित भएको हुनाले साना कामहरुलाई पनि ध्यान दिन थालेको छु । धेरै नै भयो केही सपनाहरु साँचेको तर पूरा नभएको । एकैपटक, एकै प्रयासमा पूरा हुने कुरा भएन । निरन्तर गरिरहन पनि आफैंले नसक्ने । निरन्तरता दिन नसकेको हुँदा कतिपय राम्रा थालनीहरु पनि अपुरा भएका छन् ।
    जीवनमा शिक्षा लिइन मिल्ने धेरै सन्दर्भहरु हुन्छन् । कतिपय सन्दर्भको ख्याल गरिंदैन । कतिपयको त उपेक्षा नै गरिन्छ । तालिमको सिलसिलामा एक जना सरले भन्नुभएको सन्दर्भ मलाई निकै मन प¥यो । सन्दर्भ यस्तो थियो–एउटा गाउँमा एउटा कुखुराले अण्डा पारेछ । कुखुराले अण्डा पारेपछि गाउँभरि हल्ला मच्चाएछ । गाउँका सबै मानिसलाई थाहा भएछ कि त्यो घरको कुखुराले अण्डा पारेको छ । कुखुराले एउटा अण्डा पार्दा यति ठूलो हल्ला भयो । तर एउटा नदीमा एउटा माछाले लाखौं अण्डा पारेको कुरा चाहिँ कसैलाई थाहा हुँदो रहेनछ । किनभने माछाले हल्ला मच्चाउँदै हिँड्दैन । माछाले लाखौं अण्डा पार्नु र भुरा उत्पादन गर्नु यसरी ओझेलमा परिरहेको हुँदोरहेछ ।
    उपर्युक्त सन्दर्भले निकै ठूलो अर्थ राख्दछ । हाम्रो समाजमा कतिपय मानिस यस्ता हुन्छन् जो केही काम नगरीकन पनि धेरै ठूलो धाक धक्कू लगाएर हिँड्ने गर्छन् । मानौं ऊविना पृथ्वी नै घुम्न सक्दैन भनेजस्तो । कतिपय यस्ता मानिस हुन्छन्, जो धेरै काम गरेर पनि ओझेलमा पर्छन् । उसको कुनै प्रचार हुँदैन । फेरि जतिसुकै चेतनाको ब्त्तध् भ्त्तविकास भएको भएपनि मानिसमा साधारण कमजोरीहरु सधैं बाँकी हुँदारहेछ । बुझी बुझी पनि मानिस जसको बढी विज्ञापन भयो उसको पछि लाग्ने, उसको विश्वास गर्ने । अनि जतिसुकै राम्रो क्वालिटीको भएपनि कम विज्ञप्त चिजको खास वास्ता नगर्ने । समय हल्ला गर्नेहरुले क्याप्चर गरेको छ  भन्दा फरक पर्दैन । हाम्रो सामाजिक समस्याको रुप नै बनेको छ यी कुराहरु त ।
    कहिलेकाँही एक दार्शनिकले भनेको कुरा निकै सम्झने गर्छु । दार्शनिकको नाम यतिखेर भुलें । पछि कुनै दिन सम्झेर नाम उल्लेख गरुँला । उनले भनेका थिए, कुनै एउटा झुटलाई ढाक्न मानिस सयौं झुट बोल्छन् रे । अनि गोयवल्स शैलीमा त झुट्टा कुरालाई सयौंपटक दोहोर्याएपछि त हो जस्तो नै लाग्छ रे । माथिको सन्दर्भमा यिनै कुराहरु पनि लागू हुन्छन् । एउटा अण्डा पार्ने र हल्ला  धेरै गर्ने कुखुरा र लाखौं भुरा उत्पादन गर्ने माछामा कति अन्तर ! तैपनि हाम्रो समाजमा हल्लेबाजकै गुणगान छ ।
    कवि भूपी शेरचनले त झन् कवितामार्फत् भनेका छन्, यो हल्लै हल्लाको देश हो । हल्लाहरुको पछाडि दौडने कति मानिस छन् भनेर साध्य छैन । त्यसैले अन्धविश्वासहरु अझै उस्तै रहेका होलान् कि भन्ने मलाई लाग्छ । सबैभन्दा झोंक त त्यतिबेला उठ्छ जतिबेला नदेखिएको कुरामा मानिस विश्वास गरेर मूर्ख बन्छ । कसले भनेको, कसरी भएको जस्ता कुरा सोध्दा फलानाले भनेको रे, देखेको रे भनेर लगाइदिन्छन् । रे को भरमा हिँड्ने मानिसहरु देख्दा उदेक मात्र लाग्दैन दुःख पनि लाग्छ ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal