A short note about a Nepali poem 'Harkabahadur' by Dinesh Adhikari

‘हर्कबहादुर’ कवितामा हर्कबहादुरले कस्ता नेपालीहरुको प्रतिनिधित्व गरेको छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
    ‘हर्कबहादुर’ कविता नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं.२०१६) द्वारा रचित उत्कृष्ट रचना हो । मानवता, राष्ट्रियता र सामाजिक समस्यालाई केन्द्रविन्दु बनाई कविता सिर्जना गर्ने कवि अधिकारीका अन्तरका छिटाहरु, इन्द्रजात्रा, धर्तीको गीत, अतिरिक्त अभिलेख, आदिम आवाज, मन र मोडहरु आदि कविता तथा गीत संग्रहहरु प्रकाशित छन् । नेपालीको राष्ट्रिय तथा सामाजिक समस्यालाई विषयवस्तु बनाई लेखिएको यस ‘हर्कबहादुर’ कवितामा कविले हर्कबहादुरलाई गरिब तर स्वाभिमानी, निम्नवर्गीय तर मेहनती, दुःखी तर करुणाले युक्त पात्रको रुपमा चित्रित गरेका छन् ।
    आफ्नो मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्ने नेपालीहरुले यथार्थमा भने दुःख, पीडा र वेदनाको जीवन बाँचिरहेको कुरालाई कविले यस कवितामा दर्शाएका छन् । हर्कबहादुर एक नेपाली किसान हो, श्रमिक हो र मजदुर पनि हो । हर्कबहादुर बहुआयामिक भूमिका भएको व्यक्ति हो । हिमाल, पहाड, तराई समग्र नेपालको प्रतिनिधित्व गर्ने हर्कबहादुरले अन्य निम्नवर्गीय नेपालीहरुले झैं जीवन जिउने गर्छ । अरुले दुःखमा आफूलाई सहयोग नगरेपनि अरुको भने सक्दो मद्धत गर्छ हर्कबहादुर । गाउँघरमा विभिन्न नामले पुकारिने हर्कबहादुर वास्तविक नामलाई ढाकेर बर्षाैं बाँच्दछ । यसबाट नेपाली जनताले आफ्नो परिचय र पहिचानलाई कसरी भुल्नुपरेको छ भन्ने व्यङ्गय यहाँ गरिएको छ । पौरखी हर्कबहादुर एकाबिहानै खेतबारीमा काम गर्न पुग्छ । पसिनाको धारा बहाएर धर्ती हराभरा बनाउँछ । तर उसलाई एकछाक खान र एकसरो लाउन पनि मुश्किल पर्ने गरेको छ । सभासम्मेलनमा झण्डा बनाएका कपडाले हर्कबहादुरको नाङ्गो आङको धज्जी उडाइरहेको हुन्छ तर मान्छेमा मानवता हराएकोले, सामाजिक तथा राजनीतिक कार्यकर्ता उदासीन बन्दै गएकोले हर्कबहादुर अभावमै बाँच्न विवश छ, भोको, नाङ्गो भएरै हिँड्न बाध्य छ ।  हर्कबहादुरको जस्तो अभाव, पीडा, दुःख, वेदना, रोग, भोक, शोकको जीवन करोडौं नेपालीले बाँचिरहेका छन् तर यस देशका ठूलाठालू, सम्भ्रान्त, शासक वर्ग यी समस्याका पहाड खार्ने कोशिस कहिल्यै गर्दैनन् । बरु तिथि, मिति र बारसम्म पनि थाहा नपाउने निर्दाेष हर्कबहादुर जस्ता सोझो व्यक्तिलाई झापड लगाएर दमन गर्ने काम गरिन्छ । हर्कबहादुर अभाव र दुःखको पर्याय बनेको छ । त्यसैले हर्कबहादुर स्वयंमा देश हो र देशको हालत हर्कबहादुरको जीवन जस्तै नाजुक छ भन्ने कविको आशय छ ।
    हर्कबहादुरको छोरीलाई सर्पले डसेको समय राष्टियताको नारा घन्काउनेहरुले वास्ता नगरेको, छोरो विदेशिंदा स्वाधीनताले रोक्न नसकेको अनि घरखेत बगाउँदा नागरिकताले थेग्न नसकेको कुरा उल्लेख गर्दै कविले नेपालीहरुले भोग्नुपरेको कारुणिक र दारुण अवस्थाको चित्रण गरेका छन् । हर्कबहादुरजस्ता निर्दाेष, सोझा नेपालीलाई शिकार बनाएर एकलव्यको जस्तो हालत बनाएको वर्णन पनि कविले यहाँ गरेका छन् भने नेपालको जुनसुकै ठाउँमा भेटिने हर्कबहादुरलाई आफ्नी पत्नीको सिन्दूर पोतेले सलाम गरेर सम्मान गर्न चाहेको कुरा पनि यहाँ कविले व्यक्त गरेका छन् । यसरी हर्कबहादुरमार्फत् एकातिर श्रम गर्ने श्रमिकले उचित मूल्य नपाएर जीवनको गुजारा गर्न कष्टकर भएको कुरालाई साह्रै मार्मिक ढङ्गबाट व्यक्त गरिएको छ भने अर्काेतिर नेपालका किसान, मजदुर र श्रमिकहरुले स्वाधीनता, आत्मसम्मान र गौरवको अनुभूति गर्न नसकेको कटु यथार्थलाई कलात्मक पाराले उतारेका छन् कवि अधिकारीले ‘हर्कबहादुर’ कवितामा ।
    गद्य शैलीमा लेखिएको ‘हर्कबहादुर’ कविता सरल, सम्प्रेष्य र व्यङ्गयात्मक छ । नेपाली समाजमा प्रचलित बिम्ब र प्रतीकको प्रयोगले कविता उत्कृष्ट बनेको छ । कविता गद्यमा भएपनि अन्तर्लय भेटिन्छ जसले थप मिठास थपेको छ कवितामा । समाजमा निस्वार्थ, निश्छल, इमानदार, असल र सोझासिधा नेपालीले भोग्नुपरेको कारुणिक जीवनको जीवन्त चित्रण गर्नु नै यस कविताको उद्देश्य हो ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal