A short note about a Nepali poem 'Nachinine Bhayachhau' by Agamsing Giri

कवि अगमसिंह गिरी र नचिनिने ‘भएछौ’ कविता
    अगमसिंह गिरी स्वच्छन्दतावादी धाराका कवि हुन् । गीत, फुटकर कविता र खण्डकाव्य आदिका सर्जक गिरीका कवितामा मानवमन र समाजका आन्तरिक यथार्थ वा पीडा, रोदनको चित्रण भएको पाइन्छ । समाजमा पीडित मानिस उनको काव्यको विषय हो । उनले मान्छे र प्रकृतिबीचको सम्बन्ध देखाउँदै मानवीय अन्तर्वेदनाको प्रस्तुतिबाट नेपाली जातीयताको गौरवगान गरेका छन् ।
    गिरीका कविताका विषय नेपाली संस्कृति, जातीयता, मायाममता, मानवीय पीडा, संवेदना, मानवीय अस्तित्व र अस्तित्वरक्षाका लागि संघर्ष हुन् । मानवता, जातीय गौरवगान, सार्वभौमिकता, शान्तिसन्देश उनका कवितामा पाइने मुख्य प्रवृत्तिहरु हुन् । उनको कवितामा अमानवीय व्यवहारको विरोध, देशभक्तिको प्रशंसा र हृदयस्पर्शी सौन्दर्य जस्ता प्रवृत्तिहरु पाइन्छन् ।
    कविले यस ‘नचिनिने भएछौ’ कवितामा नेपालबाहिरका नेपालीले आफ्नो पुख्र्यौली गरिमा गुमाउन लागेको र परिचय तथा पहिचान हराउँदै जान लागेको अवस्थालाई विषयवस्तु बनाएका छन् । यसमा ‘यहाँ’ शब्द नेपालबाहिरको भूमिका रुपमा र ‘तिमी’ शब्द त्यहाँ बस्ने नेपालीहरुका लागि प्रयोग भएको छ । कवले प्रवासमा बस्ने नेपालीहरु आत्मव्यथाले पीडित देखेका छन् । कविका विचारमा त्यहाँ बस्ने नेपालीले आफ्नो गौरवगाथा गुमाएर गालामा रगत हराएको, आँखाको ज्योति गुमाएका, कारागारको बन्दीजस्तो निरीह र गाँसबास लुटिएका अभागी बनिरहेको भाव व्यक्त गरेका छन् । प्रवासी नेपालीमा अतीतका गौरव रहँदाको धपक्क बल्ने अुनहारमा ग्लानिका रेखाहरु कोरिएका छन् र आत्मगौरवमय चोट लाग्दा सहने क्षमता बढेको छ । गौरव र पहिचान गुमेको अवस्थाप्रति कविले व्यङ्ग्य गरेका छन् र राष्ट्रभक्तिको अगाध भाव प्रकट गरेका छन् । कवि प्रवासी नेपालीहरुलाई विगतको गौरवगाथा सुनाउन र त्यही परिचय दिलाउन चाहँदैनन् र उनीहरुको खोसिएको गाँस, बास दिलाउन, छातीका पीर उखेल्न र छातीको घाउ पुर्न पनि चाहँदैनन् तर उनलाई जातीय गौरव आओस् भन्ने चाहन्छन् र त्यसको लागि चिन्तित बनेका छन् ।
    यस कवितामा प्रवासी नेपालीहरु विरक्तिलाग्दो, शिथिल र मलिन परिस्थितिमा रुमल्लिएको अभिव्यक्ति छ । उनीहरुले विपत्ति र कष्टको विरोध गर्न छाडी मनस्थिति परिवर्तन गरेप्रति कवि चिन्तित बनेका छन् र त्यस्तो स्थितिको व्यङ्ग्य गरेका छन् । गाँस, बास, जातीय अस्तित्व गुमाएर बाँच्न लागेका नेपालीहरुले नेपालीत्व नै बिर्सन लागेको अवस्थाप्रति कवि संवेदनशील बनेका छन् । नेपालीले आफ्नो जातीय अस्तित्व गाँस, बास, गौरवको रक्षा आफैं गर्नुपर्ने र विगतको गौरवलाई अरुले सम्झाएर होइन, आफैं याद गर्नुपने कुरालाई यस कवितामा व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन् । ‘तिमी ता यहाँ नचिनिने भएछौ’ भन्ने अंशको पुनरावृत्तिबाट व्यङ्ग्यात्मक रुपमा नेपालीलाई आफ्नो परिचय र गौरवगाथा बिर्सन नहुनेतर्फ पनि सचेत गराइएको छ ।
    सरल शैली, सशक्त बिम्ब, सहज अनुप्रासयोजना, गद्यलयात्मक साङ्गीतिकता, भावसंवेद्यता, गौरवपूर्ण विषयको स्वस्फूर्त, हृदयस्पर्शी र सहज वर्णनले कवितालाई प्रभावकारी बनाएको छ ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal