Listening teaching in Nepali Language

सुनाइ शिक्षणको परिचय
सुनाइ भाषाको आधारभूत सीप हो । दैनिक क्रियाकलापको आधाभन्दा बढी समय सुन्ने कुराले नै लिन्छ । कक्षाको प्रत्येक क्रियाकलाप सुनाइबाट नै सुरु हुन्छ । शिक्षकले कक्षाकोठामा निर्देशन दिन्छन्, व्याख्या, विवरण दिन्छन्, प्रश्न सोध्छन्, टिप्पणी गर्छन् । विद्यार्थी र शिक्षक, विद्यार्थी–विद्यार्थीका बीचमा छलफल, संवाद, प्रश्नोत्तर चल्छन् । यी सबै कुरामा सुनाइको महत्वपूर्ण भूमिका रहन्छ । सुनाइविना भाषिकसीप आर्जन अधुरै रहन्छ । सुनाइसीपको विकासका निम्ति सुनाइशिक्षण गरिन्छ । सुनाइशिक्षणका माध्यमबाट वक्ताको सुनाइमा रहेका समस्याहरु हटाउँदै उसमा ठीक ढङ्गले सुन्न सक्ने क्षमताको विकास गराइन्छ । राम्रोसँग सुन्नेले नै आफूलाई उपयुक्त ढङ्गले व्यक्त गर्न पनि सक्दछ ।
सुनाइशिक्षणको महत्व
  1. अर्काले  भनेको कुरा ठीक ढङ्गले् बुझ्न,
  2. ध्वनिहरुको पहिचान गर्न,
  3. बोध क्षमताको विकास गर्न,
  4. बौद्धिक क्षमताको विकास र मनोरञ्जन गर्न,
  5. भनाइको शैलीगत विविधता छुट्याउन,
  6. शब्दभण्डार वृद्धि गर्न,
  7. भाषिकेत्तर अभिव्यक्तिहरु थाहा पाउन,
  8. कुराको गहिराइसम्म पुग्न,
  9. राम्रो अभिव्यक्ति दिन,
  10. विषयवस्तुको बोध गर्न,
  11. भाषिक क्षमताको विकास गर्न ।
भाषिकसीपहरु र सुनाइशिक्षणको अन्तर्सम्बन्ध
भाषाका अन्य सीपहरु बोलाइ, पढाइ र लेखाइको सुनाइसँग गहिरो सम्बन्ध छ । सुनाइशिक्षणको अभावमा भाषाका अन्य सीपहरु आर्जन असम्भव जस्तै हुन्छ । राम्रोसँग सुनेपछि नै राम्रोसँग बोल्न सकिन्छ । जुन कुरा राम्ररी सुनिंदैन, बुझिंदैन, त्यसलाई लेखेर, बोलेर व्यक्त गर्न पनि सकिंदैन । त्यसैले भाषाका चारै सीपहरु एक–अर्कासँग अन्तर्सम्बन्धित छन् ।
सुनाइशिक्षणका समस्याहरु
१. वक्ताको बोलाइको गति : वक्ता विभिन्न ढङ्गले बोल्छन् । कोही अक्षर चपाएर बोल्छन्, कोही छिटोछिटो बोल्ने हुन्छन् भने कसैको बोलाइमा स्थानीय भाषिक रङ मिसिएको हुन्छ, कोही बहकिएर बोल्छन् त कसैको बोलाइ अन्यन्त सुस्त हुन्छ भने कसैको टाठो । यी सबै वक्ताका बोलाइगत विशेषताहरु हुन् । यी सबै बोलाइका ढङ्गले सुनाइमा नकारात्मक असर पार्छन् र भाषिक क्षमताको विकास र सीप आर्जनमा प्रत्यक्ष असर पर्दछ ।
२. विषयवस्तु र शब्दभण्डारगत सीमा ः विषयवस्तुको गहनता वा जटिलताले पनि सुनाइमा असर पार्ने गर्दछ । यसैगरी अपरिचित वा नयाँ विषयवस्तुले पनि श्रुतिबोधमा अप्ठ्यारो सिर्जना गर्दछ । सजिलो र परिचित विषयवस्तुले सुनाइलाई सहज बनाउँछ । त्यसैले कक्षाकोठामा सुनाइशिक्षण गर्दा सरल र परिचित विषयवस्तुको छनोट गर्नु पर्दछ । यसो गर्दा विद्यार्थीको स्तर, अभिरुचि र उसको शब्दभण्डारगत सीमालाई पनि समुचित ध्यान दिनुपर्दछ ।
३. भाषिक क्षमता : वर्णगठनको पहिचान, वर्ण भेदकताको ज्ञान, रुप गठन, वाक्यगठन, शब्दभण्डार, शब्दप्रयोग क्षमता आदिमा विद्यार्थीको अनुभवको स्तरले बोधलाई प्रभावित गर्दछ । उल्लिखित कुराहरुको कमी भए श्रुतिबोध कमजोर हुन्छ । यसैगरी वक्ताको हाउभाउ, चष्टाका साथसाथै लय, अनुतान, आघात आदिको ज्ञान श्रोतामा भएन भने पनि सुनाइमा असर पर्दछ । अतः  सुनाइशिक्षण गर्दा यी पक्षहरुमाथि समुचित ध्यान दिनुपर्दछ ।
विषयवस्तुको प्रस्तुतीकरण, शैलीशिल्प आदिको उचित ख्याल गर्न आवश्यक छ । लिखित भाषको श्रुतिबोध अझ जटिल हुन्छ । छोटाभन्दा लामा अनुच्छेद, अझ सिङ्गो पाठ र कथा, रुपकभन्दा बौद्धिकता प्रधान, कम घटना भएका रचना सामग्रीका कुरा सुनेर सम्झन र भन्न झन् गाह्रो छ । अत ः शिक्षण अभ्यासका क्रममा यी पक्षहरुमाथि समुचित ध्यान पु¥याउनुपर्दछ ।
४. वातावरणगत भिन्नता : कक्षावातावरणको सुनाइशिक्षणमा महत्वपूर्ण असर पर्दछ । कोठामा अटेसमटेस भइबस्दा विद्यार्थीहरु एकाग्र हुन सक्दैनन् । एकाग्रता नहँुदा श्रुतिबोधमा कठिनाइ उत्पन्न हुन्छ । यसैगरी वक्ता श्रोताले देख्ने स्थितिमा हुनुपर्दछ । वक्ताले देखिने गरी बोल्दा नै सुनाइशिक्षण प्रभावकारी हुन्छ । श्रोताको बसाइको तरिका पनि उपयुक्त हुनुपर्दछ ।  खुट्टा हल्लाउने, हात चलाउने र वक्तातिर नहेरी अन्यत्र हेर्ने काम श्रोताले गर्नुहुँदैन । श्रोताले मनमा कुरा खेलाउँदा, आत्मकेन्द्रित हुँदा, पूर्वागही धारणा लिँदा पनि सुनाइमा नकारात्मक असर पर्दछ ।
५. औपचारिक र अनौपचारिक भाषा : औपचारिक र अनौपचारिक भाषाको सुनाइशिक्षणमा बेग्लाबेग्लै असर पर्दछ । औपचारिक भाषा अपेक्षाकृत जटिल हुन्छ भने अनौपचारिक भाषा सरल र सहज ।
सुनाइशिक्षण क्रियाकलाप
वर्णविभेदीकरण

वर्णहरुबीचको उच्चारणभिन्नता पहिल्याउने र ठीक ढङ्गले सुन्ने तथा बुझ्ने अभ्यास वर्णविभेदीकरणअन्तर्गत गराइन्छ । कक्षाकोठामा यससम्बन्धी क्रियाकलाप गर्दा विद्यार्थीहरुले बढी गल्ती गर्ने समस्यामूलक वर्णयुग्महरु सुनाइन्छ र तीबीचका ध्वनिगत भिन्नताहरु पहिल्याउन लगाइन्छ । यसो गर्दा सार्थक–सार्थक, निरर्थक–निरर्थक, सार्थक–निरर्थक जुनसुकै वर्णयुग्महरु प्रयोगमा ल्याउन सकिन्छ । वर्णहरुको ध्वनिका आधारमा अर्थको पहिचान गर्ने कार्य वर्णविभेदीकरण भएकाले शिक्षकले विद्यार्थीहरुको स्तरअनुरुप वर्णयुग्महरु सङ्कलन गरी कक्षाकोठामा तिनको अभ्यास गर्न लगाउनुृपर्दछ । उदाहरणका निम्ति बाछा÷बाचा, सित÷शीत, वर÷बर आदि ।
वाक्यविभेदीकरण
समानजस्ता प्रतीत हुने तर अर्थ तथा आशयगत भिन्नताहरु भएका वाक्यहरु दिएर तिनमा पाइने अर्थगत भिन्नता पहिचान गर्न लगाउने कार्य वाक्यविभेदीकरण हो । यो कार्य उस्तैउस्तै वाक्यहरुमा पाइने अर्थगत भिन्नतालाई पहिल्याउने र अर्थबोध गर्ने कुरासँग सम्बन्धित छ । यसका निम्ति शिक्षकले कक्षाकोठामा त्यस किसिमका वाक्यहरु दिई तिनमा पाइने अर्थगत र व्याकरणात्मक भिन्नताहरु पहिचान तथा बोध गर्न लगाउनुपर्दछ । यसले विद्यार्थीहरुलाई वाक्यमा पाइने अर्थगत सूक्ष्मताप्रति सचेत गराई श्रुतिबोध तथा पठनबोधको क्षमता विकास गर्न समेत सहयोग पु¥याउँदछ ।

श्रुतिबोध
सुनेको कुरा बुझेर उत्तर दिन सक्नु नै श्रुतिबोध हो । सुनेको कुरा बुझिएन भने त्यसको कुनै सार्थकता रहँदैन । अतः शिक्षकले विद्याथर्गीहरुको कक्षागत स्तर हेरी श्रुतिबोधात्मक अभ्यास गराउनुपर्दछ । शिक्षकले यसअन्तर्गत निम्नलिखित क्रियाकलापहरु गर्न लगाउनुपर्दछ ।
१. कथा, जीवनी वा कुनै घटना सुनाई त्यससम्बन्धी प्रश्नोत्तर गराउने ।
२. कुनै पाठको अंश वा समग्र पाठ नै पढेर सुनाइ त्यसको सारांश भन्न लगाउने ३. कुनै घटना, प्रसङ्ग वा विषयवस्तुसँग सम्बन्धित ठीकबेठीक, सत्यअसत्य, मिल्दानमिल्दा कथनहरु सुनाउने र ठीकबेठीक कथनहरु छुट्याउन लगाउने ।
४. शिक्षकले छोटो व्याख्यान दिई त्यस सम्बन्धमा प्रश्नोत्तर गराउने ।
५. कुनै कथा, निबन्ध, जीवनी अंश वा पूर्ण पाठ सुनाई त्यसका मुख्यमुख्य कुरा भन्न लगाउने ।
६. विद्यार्थीहरुलाई थाहा नभएका अपरिचित पाठका अनुच्छेदहरु सुनाई त्यसको शीर्षक भन्न, छान्न वा अनुमान गर्न लगाउने ।
७. शिक्षकले प्रश्नहरु श्यामपाटीमा लेख्ने र प्रश्नहरुका उत्तर आउने पाठ्यांशहरु सुनाई प्रश्नहरुको उत्तर दिन लगाउने ।
८. केही महत्वपूर्ण वाक्यहरु सुनाई त्यसको विस्तार गर्न लगाउने ।
९. कुनै घटनाक्रमलाई उल्टोपाल्टो पारेर सुनाउने र त्यसलाई मिलाउन लगाउने ।
श्रुतिलेखन
कुनै पाठ्यांश सस्वरवाचन गर्दै लेख्न लगाउनु श्रुतिलेखन हो । यसअन्तर्गत विद्यार्थीहरुलाई उपयुक्त उच्चारण तथा वर्णविन्यास अनुरुप लेख्न अभ्यस्त गराइन्छ । वर्णयुग्म, शब्दयुग्म, वाक्य, वाक्यसमूह, अनुच्छेद आदि सुनाउँदै विद्यार्थीहरुलाई लेख्ने अभ्यास गराउनुपर्दछ । यसका साथसाथै अनुतान, आघात, लय, मात्राका आधारमा भिन्नता देखापर्ने शब्द वा वाक्यहरु सुनाई तिनमा पाइने भिन्नता छुट्याउने अभ्याससमेत गर्न लगाउन सकिन्छ ।
श्रुतिरचना
विद्यार्थीहरुलाई कुनै घटना, प्रसङ्ग, विषयवस्तुको वर्णन, विवरण आदि सुनाई उनीहरुले सम्झेबुझेका आधारमा क्रम मिलाएर एकदुई अनुच्छेद लेख्न लगाउने कार्य श्रुतिरचना ो । यसले विद्यार्थीको सुनाइ, बोलाइ, लेखाइसीपको विकास गर्दछ । श्रुतिरचनाका लागि विद्यार्थीले नपढेका कथा, जीवनीलगायत घटना, प्रसङ्ग वा विषयवस्तुको प्रयोग गर्न सकिन्छ । यसबाट विद्यार्थीमा सुन्ने, बुझ्ने र बुझेका कुरा लेख्ने सीपको विकास हुन्छ ।
बुँदाटिपोट
शिक्षकले कुनै कुरा सुनाएर त्यसका मुख्यमुख्य कुरालाई बुँदामा टिपोट गर्न लगाउनु नै बुँदा टिपोट हो । बुँदाटिपोट क्रियाकलाप सम्पन्न भएपछि विद्यार्थीहरुलाई उनीहरुले गरेको बँुदा टिपोट सुनाउन लगाउनुपर्छ र त्यसमा शिक्षकले आवश्यक टिप्पणी पनि गरिदिनुपर्दछ । बुँदा टिपोटका निम्ति शिक्षकले पाठ्यपुस्तकभित्रका वा बाहिरका सामग्रीहरु प्रयोग गर्न सक्छन् । बुँदाटिपोटका निम्ति अनुच्छेद वा समग्र पाठ सुनाउन सकिन्छ ।
समस्या समाधान
समस्या समाधान अन्तर्गत विद्यार्थीहरुलाई विवादास्पद कुराहरु सुनाएर त्यसमा अन्तर्निहित गाँठो फुकाउन लगाइन्छ । यसका निम्ति शिक्षकले विद्यार्थीहरुलाई उनीहरु सहमत वा असहमत हुने विषयहरु सुनाएर, मिल्दाअमिल्दा कुराहरुप्रति टिप्पणी गर्न लगाएर उनीहरुलाई यसको अभ्यास गर्न लगाउन सक्छन् । यसका निम्ति विद्यार्थीहरुलाई आपसमा वादविवाद गराउने, एकअर्काको तर्कको खण्डनमण्डन कार्य गराउनु पनि उपयुक्त देखिन्छ ।
सुनाइपूर्वका अवस्थाहरु
सुनाइ सीपशिक्षणका सबै कुरा अन्ततः कक्षाकोठामा गएर नै केन्द्रित हुन्छन् । सुनाइशिक्षणसम्बन्धी सबै कुराको ज्ञान विद्यार्थीहरुलाई सुनाइमा सक्षम बनाउनका निम्ति हो । कक्षाकोठामा सुनाइशिक्षण कसरी गर्ने भन्ने कुराको ज्ञान र तयारी भएन भने उपयुक्त शिक्षण सम्भव हुँदैन । त्यस्तो शिक्षणबाट विद्यार्थीहरुलाई कुनै फाइदा हुँदैन । त्यसैले सनाइशिक्षण क्रियाकलापको कक्षाकोठामा प्रयोगबारे शिक्षकलाई व्यवस्थित ज्ञान हुन आवश्यक छ । सुनाइशिक्षण क्रियाकलापको कक्षाकोठामा प्रयोगलाई तीन भागमा बाँडेर कक्षाकोठामा सुनाइशिक्षण क्रियाकलाप सम्पन्न गरिन्छ ः
  • सुनाइपूर्वका अवस्थाहरु
  • सुनाइक्रमका अवस्थाहरु
  • सुनाइपश्चात्का अवस्थाहरु
सुनाइपूर्वका अवस्थाहरु
सुनाइपूर्वका अवस्थाहरुअन्तर्गत सुनाइ सामग्रीको चयन सबैभन्दा पहिले पर्दछ । उद्देश्यअनुरुपका सामग्रीहरुको छनोट कक्षाकोठामा सुनाइशिक्षण क्रियाकलापको पहिलो कडी हो । ठीक सामग्रीको छनोट भएन भने उद्देश्यअनुरुप शिक्षणकार्य  सम्भव हुँदैन । वाक्यविभेदीकरण शिक्षण गर्नु छ भने शिक्षकले विद्यार्थीहरुको स्तरअनुरुप उपयुक्त वाक्यहरु छनोट गरी वाक्यपत्तीहरुको निर्माण गर्नु आवश्यक हुन्छ । यसैगरी शिक्षकले उद्देश्यअुनरुपको विषयवस्तु शिषण्या गर्नुछ भने शिक्षकले विद्यार्थीहरुको स्तरअनुरुप उपयुक्त वाक्यहरु छनोट गरी वाक्यपत्तीहरुको निर्माण गर्नु आवश्यक हुन्छ । यसैगरी शिक्षकले उद्देश्यअनुरुपको विषयवस्तु शिक्षण गरेपछि मूल्याङ्कन, समस्या पहिचान र पृष्ठपोषणका निम्ति पहिले नै प्रश्नहरु निर्माण गर्नुपर्छ । कक्षाकोठामा हठात् निर्माण गरिने प्रश्न वस्तुगत हुने सम्भावना अत्यन्त कम रहन्छ । सुनाइशिक्षण गर्नुभन्दा पहिले गर्नुपर्ने अर्काे महत्वपूर्ण कार्य कक्षाकोठामा सुनाइ वातावरण निर्माण हो । सुनाइ वातावरण निर्माण भएन भने शिक्षण कार्य फलदायी हुन सक्दैन । सुनाइशिक्षणप्रति विद्यार्थीको ध्यानलाई पूर्ण केन्द्रित गर्नु नै उपयुक्त सुनाइशिक्षण वातावरण हो । विद्यार्थी परस्पर चल्दा, आपसमा कुरा गर्दा, अटेस मटेस भएर बस्दा, मन अर्कैतिर बहकिँदा कक्षाकोठाको शिक्षण वातावरण बिग्रिन्छ । अतः शिक्षकले शिक्षण गर्नुअघि वातावरण निर्माणमा ध्यान दिनुपर्दछ । सुनाइशिक्षणको सुरुवातभन्दा पहिले शिक्षकले विद्यार्थीहरुलाई आवश्यक निर्देशन पनि दिनुपर्दछ । पाठ्यवस्तुको उद्देश्यको जानकारी गराउनेदेखि उनीहरुबाट अपेक्षित सहभागितासम्बन्धी निर्देशन पनि दिनुपर्दछ । निर्देशनले विद्यार्थीहरुमा सजगता र सचेतता पैदा गर्दछ ।

सुनाइक्रम र सुनाइपश्चात्का अवस्थाहरु 
सुनाइशिक्षणक्रियाकलापको कक्षाकोठामा प्रयोगका निम्ति सुनाइ सामग्रीको चयन, प्रश्नहरु निर्माण, सुनाइ वातावरणको निर्माण तथा आवश्यक कक्षानिर्देशन दिइसकेपछि क्रियाकलाप प्रयोगको दोस्रो चरण सुरु हुन्छ । सुनाइ क्रमका अवस्थाहरुमा सबैभन्दा पहिले सुनाइ सामग्रीको प्रस्तुति गरिन्छ । निश्चित उद्देश्यअनुरुप तयार पारिएका र छनोट गरिएका सामग्रीहरुको प्रस्तुती नै सुनाइ सामग्रीको प्रस्तुति हो । सुनाइ सामग्रीको प्रस्तुति सँगसँगै सुनाइको अवलोकन आवश्यक हुन्छ । विद्यार्थीले सुनाइ सामग्रीको प्रस्तुतिप्रति अभिरुचि देखाइरहेका छन् कि छैनन्, प्रस्तुत सामग्री उसले बुझिरहेको छ कि छैन, क्रियाकलापमा कत्तिको भाग लिइरहेको छ, एकाग्र छ कि छैन, सामग्री जटिल पो भयो कि, जस्ता कुाहरु सुनाइको अवलोकनभित्र पर्दछन् । सुनाइ अवलोकनले शिक्षकलाई तयार पारिएको सामग्रीको प्रयोग अझ राम्रोसँग गर्न आधार प्रदान गर्दछ ।
सुनाइशिक्षण कक्षाकोठामा प्रयोगको अग्रिम अवस्थालाई सुनाइपश्चात्को अवस्था मानिन्छ । यसअन्तर्गत सुनाइ मूल्याङ्कन, समस्या पहिचान र पृष्ठपोषण पर्दछन् । सुनाइशिक्षणपछि सुनाइ मूल्याङ्कनको प्रक्रियालाई अघि बढाइन्छ । सुनाइ मूल्याङ्कन शिक्षण गरिएको पाठ्यवस्तु र उद्देश्यका आधारमा गरिन्छ ।
विद्यार्थी सिक्न सक्षम भएन भने त्यसको वास्तविक कारण पहिल्याउनुपर्दछ । कारण नभई कार्य हुँदैन । विद्यार्थीले सिक्न नसक्नुको अर्थ नै त्यहाँ कुनै न कुनै समस्या हुनु हो । यही समस्या थाहा पाउनु नै समस्या पहिचान गर्नु हो । विद्यार्थीले शिक्षण सिक्न सक्नु वा नसक्नुका अनेक कारण हुन सक्छन्, जस्तै–ध्यान नदिनु, विषयवस्तुको सामान्य ज्ञान पनि नहुनु, अस्पष्ट हुनु, पढाएको नै नबुझ्नु आदि । समस्या पहिचान पृष्ठपोषणका निम्ति गरिन्छ । पृष्ठपोषणले विद्यार्थीलाई आफूमा रहेका त्रुटिहरुलाई पहिल्याउँदै सिक्न मद्दत पुर्याउँछ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal