च्यातिएका पानाहरु

केही न केही नगरी त बस्नै सकिन्नँ । केही न केही नसोची पनि त कहाँ बस्न सकिन्छ र ? सोचें, त्यस्तो काम गरुँ जसले धेरै दर्शकको आँखा खुला भइराखून्, धेरै श्रोताको कान चनाखो भइराखून् । तर त्यस्तो टिपटप, हिटहट, युनिक, पपुलर वर्ड मेरो डिक्सनरीमा थिएन । फेरि ममा शब्द र भावको कुशल संयोजन गर्ने महंगो शैली पनि त थिएन । आयातीत र अलरेडी पपुलर स्टाइल म त्यति रुचाउँदिनथें । यस्तै विलखबन्दमा दिनहरु बितिरहेका थिए । म केही त गर्न चाहन्थें तर के गर्ने आफैं निधो गर्न सकिरहेको थिइनँ ।
सायद त्यसैले हुनसक्छ, जहाँ जतिखेर जस्तो काम देख्यो त्यस्तै गर्न मन लाग्ने भएको थियो । किताबहरु जरुर पढ्थें तर दुई चार पृष्ठहरु पढिसकेपछि एक प्रकारको उच्चाट पैदा हुन्थ्यो । त्यो त्यत्तिकै थन्किन्थ्यो या त अँध्यारो कोठाको कुनै कुनामा । कतिपय पुस्तक त मिलाएर राख्ने होस पनि पुग्दैनथ्यो । नभ्याएको भनुँ भने कहिलेकाहीं केही काम नपाएर छटपटाएको जस्तो पनि त हुन्थ्यो । तर समय साथमा छँदा यति सानो काम पनि किन हुँदैन त ? त्यसैले आफैंलाई भन्ने गर्थें कि एउटा सानो काम गर्न त यति विलम्ब भइरहेछ भने महान् बन्ने सपनाहरु के त्यतिकै पूरा होला र ? अनि कहिलेकाँही केही गर्ने मन हुँदैनथ्यो । जोश जाँगर जति मरेर आउँथ्यो जसरी कहिलेकाँही मन मर्ने गथ्र्यो ।
मेरो सफलताको सीमा मभित्रै थिए । मेरो स्वच्छन्दता, मेरो स्वतन्त्रता, मेरो उन्मुक्तता नै अन्ततः मेरो असफलताका श्रृङ्खलाहरु बनेर दोहोरिइरहेका थिए । आफैंमा अनियन्त्रित चञ्चलता पनि यसको एउटा कारण थियो सायद । जब जब म अनलाइनहरुमा बस्थें, कहिले कुनै वेवपेजमा पुग्थें, कहिले कुन पोर्टलमा भौंतारिन्थें कुनै सीमा नै हुँदैनथ्यो । यसरी सीमाहीन कर्म स्वयम्को लागि प्रतिपादक छ भन्ने जान्दाजान्दै पनि समयको म्यानेजमेन्ट गर्नबाट म असफल भइरहेको थिएँ । जब समय निकै कम हुन्थ्यो धेरै काम गर्न बाँकी रहेको सम्झेर दिमागको चाप र ताप स्वतः बढ्न पुग्थ्यो ।
साँच्चि भनुँ भने यो अस्थायी प्रकारका चञ्चलताहरु, क्षणिक मनोवेगहरुको दीर्घकालीन उपचार खोजिरहेको थिएँ म । कुनै खास त्यस्तो ठूलो काम गर्नै सकिनँ । तर यसरी केही नगर्दा पनि केही नहुँदा पनि त्यतिसारो म त्रसित वा भयभीत छँदै थिइँन किनभने मभित्र एक प्रकारको दम्भ बाँकी नै थियो । धेरै काम गर्न सक्छु जस्तो लाग्नु मेरो हाइपोथेसिस नै हो भन्ने मलाई महसुस हुन थालेको छ ।
    यसरी कुनै ठूलो परिवर्तन नहुँदा, केही उपलब्धि नहुँदा निराश नभएपनि सन्तुष्ट थिइँन म । दिमागमा बारम्बार नयाँ केही काम गर्ने चाहना पैदा हुन्थ्यो । तर मेरो स्वभाव अरुको लागि अति अप्रिय र अस्वाभाविक किन पनि थियो भने म जुन काम गर्न जान्थें त्यसमा धेरै समय टिक्न सक्दिंनथें । मनहरु यसरी छिटोछिटो परिवर्तन हुँदा त्यसको असर अरुलाई मात्र होइन म आफैंलाई पनि परिरहेको थियो । त्यसैले म धेरै ठाउँमा अपुरो थिएँ, धेरै ठाउँमा अधुरो थिएँ । अहिलेसम्म् मलाई लाग्छ, सायद त्यस्तो ठाउँ मैले बनाइँन जुन पुर्ण भयो भन्ने लागोस्, गर्न बाँकी छ भन्ने लागोस् । यस्तै धारणाहरु मनमा वादी प्रतिवादी झैं भएर आफैंमा उत्पन्न हुन थालेपछि हतारमा मैले अतीतमा च्यातिएका डायरीका पानाहरुको पुनःलेखन गर्ने निधोमा पुगें । त्यो सम्पत्ति यसकारण पनि लेखें, जीवनका पूर्वार्धका रङ्गीन पलहरु थिए र यसकारण अप्राप्य छ, भेल बनेर आएको समयसँग निरीहरु पानाहरु च्यातिएर गएका छन्, धुज्जिएर गएका छन्, तर मस्तिष्कका हरेक पूर्जाहरुलाई मैले एक्टिभ बनाउँदैछु कुनै पनि इम्पोर्टेन्ट इभेन्ट नछुटोस् भनेर हेरौं कसरी म यो क्यानभास सजाउन सक्नेछु । जीवन नै एउटा ट्रायल हो भने यो ट्रायल दिन किन शरमाउनुपर्ला र !

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal