Ganthan 3 "A small memory of Northern Gorkha"

गन्थन ३
    हिजोआज फुर्सद मसँग नगराम्ररी तर्सेको छ । बेफुर्सदी यो दौडाहा, यो व्यस्तता चतुष्कोणीय उपलब्धिमा परिणत हुन सकेको पनि छैन । पछाडि फर्केर ३ दशकको उपलब्धि मूल्याङ्कन गर्ने हो भने असन्तुष्टिको पहाड मात्र उभिएको पाउँछु । अझ अस्वस्थपनको भावुकतामा ट्रयाजिक क्षणको प्रोडक्ट झण्डै डिप्रेसनको स्याम्पल बन्ला भन्ने डर पनि भइदिन्छ । तैपनि उभिनु छ, जुझ्नु छ, जुध्नु छ समस्याका पहराहरुसँग । एउटा घुम्तीमा मात्र जीवनको परीक्षा पूर्ण हुँदैन । अनेक शिविर, अनेक मोड पार गरेपछि फराकिलो फुर्सदमा स्मरणको पुनराख्यान सुरु हुन्छ ।
    ‘‘धेरै अघि हिमाली क्षेत्रमा पुग्दाको एउटा रिल मेरो स्मृतिपटलको पर्दामा प्रोजेक्टेड हुँदा म निकै रोमाञ्चित हुने गर्छु । २०६४ सालको चैत्र २८ मा संविधान सभाको चुनाव सम्पन्न गर्न गोरखा सदरमुकामबाट पठाइएको एउटा टिममा म पनि सहभागी थिएँ । विकट हिमाली बस्ती प्रोक हाम्रो गन्तव्य । निर्वाचन अधिकृत कपिल कट्टेल सरको अगुवाइमा १० जना सुरक्षाकर्मीसहित करिब २० जनाको डफ्फा चुनावी मेसोमेलो मिलाउन त्यता गएका थियौं । त्यसबखतको क्षणहरु यसकारण पनि उप्काइरहेछु कि कहिल्यै नपुगेको ठाउँमा हामी जाँदै थियौं । घरबाटै छर्लङ्ग देखिएतापनि मनासलु हिमालको फेदीमा यस अघि कहिल्यै पुगिएको थिएन । सदरमुकामबाट आरुघाटसम्म बसको यात्रा । कच्ची रोड भएकाले कतिपय घुम्तीमा मुटुको आयतनमा स्वतः वृद्धि हुन्थ्यो । फस्र्ट डेको डेस्टिनेसन आरुघाट बजार । आरुघाटको पहिलो फेस साँझपखको प्रहरमा भएको थियो । एउटा लोकल होटलमा रात्रिकालीन विश्रान्तिको चाँजोपाँजो मिलाएर पुलतिर टहलिन पुग्दा गालामा पाएको पवनीय थप्पड कम्ती तारिफ गर्न लायक थिएन । बुढीगण्डकीको सुसेली र त्यसैबखत परेको पानीका बूँदहरुले बगरमा परिणत मनको एउटा सानो कुनालाई आवाद गरेको रिलाइज गरेको थिएँ । मानिसहरु ओहोरदोहोर गरिरहेकै थिए । अनि अँध्यारोको घुम्टोमा ढाकिएर हामी केही पाहुना यात्रीले पुलपारिको धादिङे माटोलाई चुमेका थियौं ।
    केही दिन अघि आरुघाटमा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच बढेको तनाव यससमयमा साम्य भैसकेको थियो । अशान्तिको बादल गर्जने कुनै त्यस्तो सांकेतिक भाषा पनि  त्यसबखत थिएन । सहरिया रिसोर्टहरुमा झैं वेल फर्निस्ड, वेल डेकोरेटेड नभएको भएपनि एउटा सोफिस्टिकेटेड निद्राको लागि गरिब थिएन आरुघाट बजार । दिनभरिको थकित शरीर हरेक कम्प्लेक्सिटीको एनालिसिस गर्न समर्थ पनि त थिएन त्यसबखत । हाम्रो मनमा खालि प्रोक पुग्नु, चुनाव गर्नु अझ पहिलोपटक हिमाली दृश्यको ज्यादै निकटबाट आस्वादन गर्नुको मोस्ट वान्टेड डिमाण्ड थियो । हामी त्यहाँ एककिसिमले पर्यटक थियौं तर यो विदेश थिएन, स्वदेश नै थियो । अझ सदरमुकामबाट धेरै टाढाको क्षेत्रमा पुगेका थियौं । त्यसैले आरुघाटबासीको न्यानो माया बाहेक अरु केही हामीलाई चाहिएको थिएन ।
    दोस्रो दिनांकको सखारै आरुघाट बजारबाट उँभो लाग्दै गर्दा भने अर्कै देशमा पो आइपुगियो कि भन्ने भान भयो । आरुघाट बजार छिचोल्दा छिचोल्दै लहरै देखिएको भोटेलामा जातिको झण्डाहरुले नै नयाँ प्रदेशको झल्को गराएको थियो । आरखेतसम्म चल्ने सानो जिप त्यहाँको लागि मेट्रो रेल भन्दा कम थिएन । हामी तिनैमध्येको एउटामा गुन्द्रुक खाँदिएझैं खाँदिएका थियौं । रहर नभएर यो परिस्थितिजन्य बाध्यता भएकोले विद्रोहको भाषा बोल्ने ह्याउ हामी कसैमा थिएन । थुमी गाविसको ठूलो पहाडी काख हुँदै आरखेत छिचोल्दै हामी उत्तरी दिशातिर लम्किरहेका थियौं । धेरै बुथका स्टाफहरु एकैपटक त्यसरी एकाएक थुप्रिंदा खानाको बन्दोबस्त गर्न समेत निकै सकस परेको थियो आरखेतलाई भन्ने मनमा फुरिरहेका थियो मेरो ।
    लापु बेसीको भीर सायद म जीवनमा कहिल्यै बिर्सन्नँ । यस्तो भीर मैले अन्त कतै देखेको थिइनँ । पारिबाटै हेर्दा पनि मुटु ढक्क फुल्ने । आङ सिरिङ्ग हुने । अझै दुई तीन दिन लाग्छ रे प्रोक पुग्न । दोस्रो दिनमै यस्तो भीर छिचोल्नु छ भने यस्ता भीरहरु कति आउलान् कसरी हामी प्रोक पुग्छौं भन्न सोच्न पनि कष्टकारक क्षण थियो । यस्तो भीरको बाटो पारिबाट खच्चडको लाम । हामीलाई कुनापट्टि बस्न अगुवाको निर्देशन थियो । बाटोबाट चिप्लियो भने अथवा छेउमा बस्दा खच्चडसँग ठोकिएर खस्यो भने सिधै दुई सेकेण्डमै बूढीगण्डकीमा परिने डर । यसै बेला एक जना सरले कालीगण्डकीको कहानी सुनाउनुभयो । कालीगण्डकीमा एक पटक एक जना विदेशी पर्यटक यस्तै भीरको बाटोमा छेउमा बसेका रहेछन् । भारी बोक्ने खच्चडको लाम त्यतै आउँदै रहेछ । अचानक खच्चडको भारीसँग उनी ठोकिएछन् र सिधै कालीगण्डकीमा खसेर मरेछन् । यो त धरै टाढा कालीगण्डकीको कहानी थियो । हाम्रो मुन्तिर त दर्दनाक गण्डकी सुसाइरहेकै छ । खच्चड रिसाएर लात्तीले हान्यो भने ? अथवा रिङटा लागेर आफैं चिप्लियो भने ? यस्तै अशुभ चिन्तन पनि गर्दै भीर पार गरेपछि भने सन्तोषको लामो स्वास हामी सबैले फेरेका थियौं ।
क्रमशः........................

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal